छठ पर्व : उदाउँदो सूर्यलाई अघ्र्य
काठमाडाैं | कात्तिक १४, २०७९
काठमाडौं : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।
मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्यरुपमा छठ हुन थालेको छ ।
छठका लागि आइबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि बर्तालुमात्र राजधानीका छठ घाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

